मोटरसाइकल दुर्घटनामा दिदी भाइको मृत्यु

काठमाडाैँ । रुपन्देहीको तिलोत्तमामा भएको सडक दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा-३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको हाे ।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार आइतबार साँझ तिलोत्तमा नगरपालिका-६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियाे ।

दुर्घटनामा परी सुद्धोधन-३ का ३४ वर्षीय सुरज काफ्ले र तिलोत्तमा-३ की कमला खराल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । मृतक दुईजना बालबालिका र घाइते कमला खराल सुरज काफ्लेले चलाएको लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार थिए ।

दुर्घटनामा परी लु २८ प ४३७३ नम्बरको मोटरसाइकल चालक बुटवल -७ दीपनगर बस्ने २६ वर्षीय सुजन थापा र पछाडि बसेका सुभास खनाल सामान्य घाइते छन् । दुई मोटरसाइकल ठक्कर खाएपछि लु १ क ३०६४ नम्बरको मिनी ट्रकमा समेत ठोक्किएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री