काठमाडौँ । नेपाल आयल निगमले तत्कालाका लागि इन्धनको मूल्य घटाउने नसकिने जनाएकाे छ । निगमले भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएकाे भन्दै मूल्य समायाेजन गर्न नसकिने बताएकाे हाे ।
‘हामीलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने, ‘अब निगम आर्थिक रूपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’
निगमलाई विगत ४ महिनादेखि अझै रु २३ अर्ब तिर्न बाँकी रहेकाले मूल्य नघटाइ यथावत राख्ने जनाएको हो । आज मात्रै भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य घटाएर पठाएको थियो ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४.७४ पैसा नाफा हुँदा पनि मूल्य घटाइएको छैन । यस्तै निगमले डिजेलमा ४.५० पैसा घाटा देखाएको छ भने ग्यासमा पनि ४९९.५७ रुपैयाँ घाटा देखाएको छ । हवाइ इन्धन र मट्टितेलमा नाफा नै देखाइएको छ ।
निगमले बढाउने बेलामा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढ्ने गरेकाे बताए पनि घटाउने बेला घाटा रहेकाे बाहाना बनाउँदै मूल्य समायाेजन गर्न आनाकानी गर्दै आएको छ ।




