काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउने विशिष्ट (भीआईपी) व्यक्ति सवारीको रुट निर्धारण गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मका दुई रुट बनाइएको छ।
दुवै रुटमा सोमबारदेखि नै हतियारसहितका सुरक्षाकर्मी छरेर राखिएको छ। विमानस्थलदेखि तिलगंगा, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टी होटललाई मुख्य सवारी रुट बनाइएको छ।
त्यसै गरी,वैकल्पिक रुटमा विमानस्थलबाट गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, रविभवन र सोल्टी होटलसम्म तय गरिएको छ।
भदौ १४ र १५ मा हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष छिरिङ तोग्वे आउने तय भएको छ।
प्रतिकृया दिनुहॊस