काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले संघीय निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई महत्त्व दिन आग्रह गरेका छन् । अपरिपक्वताले कच्चा काम मात्रै हुने उल्लेख गर्दै मिश्रले यस्तो आग्रह गरेका हुन् ।
आफूले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नैपर्छ भनेको उनले दोहोर्याए । ‘मैले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नै पर्छ भनेर बारम्बार भने- इमानदारी, क्षमता र परिपक्वता,’ उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘इमानदारी र क्षमताको परीक्षण हुँदै जाला, परिपक्वता भएन भने कस्ता कच्चा काम हुन्छन्, परिणाम देखिन थालेको छ ।’
देशमाथि धेरै घात गरिसकेकाले अब सच्चिने बेला आएको मिश्रको भनाई छ । ‘कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा, गर्दा, हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ,’ उनले अगाडि भनेका छन्, ‘संघीय निर्वाचन आउँदैछ । इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्त्व दिऊँ । बहकिने काम नगरौँ । विचारभन्दा माथि देशलाई राखौँ !’




