काठमाडौँ । सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो २ बजेपछि बालुवाटारमा बस्ने गरी बोलाइएको हाे ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन सत्तारुढ पाँच दलले ११ सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलमा कांग्रेसबाट ३ र अन्य दलबाट २/२ जना सदस्य छन् ।
यसअघि साउन २३ गते बसेको कार्यदलको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कार्यदल संयोजक चयन गरेको थियो । कार्यदलले सबै दललाई सम्मानजनक सिट बाँडफाँटको खाका तयार गरेर साउन मसान्तभित्र शीर्ष नेतालाई दिएपछि शीर्ष नेताले यसको टुंगो लगाउने तयारी छ ।
सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ-आफ्ना दाबी पेश गर्दैछन् । आगामी निर्वाचनका लागि कांग्रेसले ६० प्रतिशत सिटमा दाबी गर्ने तयारी गरेको छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीको दाबी पनि धेरै सिटमा भएका कारण कार्यदललाई खाका तयार गर्न कठिन हुने देखिन्छ ।




