काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गर्दैछन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो । ‘आज राति १० बजे प्रचण्डज्यू जापान जाँदै हुनुहुन्छ । उहाँको जापान भ्रमणको सफलताको कामना गठबन्धन गरेको छ,’ बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने ।
प्रचण्ड पाँच दिन लामो भ्रमणका लागि जापान जान लागेका हुन् । भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन् । उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने भएका छन् । त्यसपछि त्यसपछि जापानमा रहेका प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।
उनले प्रवासी नेपालीहरुसँग पनि भेटघाट गर्ने सचिवालयले जनाएको छ । त्यसपछि प्रचण्डले जापानको विकासबारे अध्ययन गर्ने भएका छन् । त्यस्तै कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ ।




