काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका पुराना नेताहरूसँग छलफल गरेका छन् । उनले आइतबार पार्टीको पछिल्लो अवस्थाका बारेमा पुराना नेताहरुसँग छलफल गरेका हुन् ।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाकाअनुसार तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विजयध्वज चन्द, विपीन कोइरालालगायतसँग छलफल गरे । सो क्रममा नेताहरुले कोइरालासँग कांग्रेसमा इमान र आदर्शको राजनीतिक सकिएको बताएका थिए ।
गठबन्धनको सही मूल्याङ्कन नगरिए कांग्रेस संघ र प्रदेशको चुनावमा संकटमा पर्ने उनीहरुको भनाई थियो । ‘पार्टीभित्र आदर्श, इमान, त्याग र निष्ठाको राजनीति रहेन, पार्टी ठेकेदारी प्रथामा चल्न थाल्यो,’ नेताहरुको भनाई उद्धृत गर्दै स्वकीय सचिव थपलियाले भने, ‘हामीलाई चिन्ता छ, ुनेपाली कांग्रेस पार्टी अब पार्टीजस्तो रहेन ।’
पुराना नेताहरुलाई पाखा लगाएर पार्टी ठेकेदारी प्रथामा चल्न थालेको गुनासो नेताहरुले गरेका थिए । नेताहरूले पार्टीभित्रका हरेक अवसरमा न्यायोचित व्यवस्थापन हुनुपर्ने सुझाव दिएका छन् । छलफलमा नेता कोइरालाले नेताहरुलाई अनुभवका आधारमा आ-आफ्नो स्थानबाट सक्रिय हुन आग्रह गरेका थिए ।




