काठमाडौं । एनआइसी एसिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप सुरुवात गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति गरेको हो ।
जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको सुरुवात गरेको हो । हालका एनआइसी एसिया मोबैंक प्रयोगकर्ताहरूले वर्तमान एनआइसी एसिया मोबैंक एपलाई अपडेट गरी ओम्नीच्यानल एपमा स्तरोन्नति गर्न सक्ने छन् । ग्राहकले प्लोस्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्ने छन् ।
‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नीच्यानल एपबाट ग्राहकले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । बैंकले निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी गरिरहेको जनाएको छ ।
स्तरोन्नतिपछि एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई-कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू डिजिटल प्राप्त गर्न सक्ने छन् ।
एनआइसी एसिया बैंकमा खाता नभएकाले पनि यो एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्ने छन् । यसबाट समेत क्युआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सक्ने छन् ।




