कांग्रेस उपसभापति गुरुङ ठूलो दुर्घटनाबाट जोगिए

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना जोगिएको छ । ओखलढुङ्गाबाट काठमाडौँ फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक छोडेको हो ।

गुरुङका अनुसार ओखलढुङ्गाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो ।

उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुङ्गाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

गाडी ढुङ्गाको आडमा रोकिएकाले दुर्घटना टरेको उपसभापति गुरुङले बताएका छन् । गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जनलगायत पाँच जना सवार थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री