बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्ने समेत बताएका छन् ।

प्रधानमन्त्री देउवाले आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वबिद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बुद्धले प्रतिपादन गरेको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा आजको २१ औँ शताब्दीमा पनि महत्वपूणर् रहेको बताए । ‘यसैले पनि आज संसारभर बौद्ध दर्शनको अध्ययन-अध्यापनलगायतका बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम उल्लेख्यरुपमा बढ्दै गएको छ’, प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउँदै यो गौरव हामीले हासिल गरेका बताए । उनले बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती पनि हामीमा रहेको बताएका छन् । ‘सम्भावना र चुनौतीको यो संयोगले हामीलाई अझै बढी वैज्ञानिक, व्यवस्थित र युगानुकूल हुन ऊर्जा दिइरहन्छ’, उनले भने ।

प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रुपमा आफूलाई स्थापित गर्न दीक्षित अग्रसर रहने विश्वास व्यक्त गरे । उनले भने, ‘अध्यात्मको आलोकमा प्रकाशित तपाइँहरुको व्यावसायिक शिक्षा समाजिक सद्भाव, शान्ति र आर्थिक उन्नयनका लागि विशिष्टरुपमा प्रदिप्त भएको देख्न पाउनेमा आशा व्यक्त गर्दछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री