काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीपरिषद्मा दुईजना गैरसांसद भएका छन् । ती दुवै गैरसांसद नेकपा एकीकृत समाजवादी पार्टीका छन् ।
एक महिना अगाडि गैरसांसद रहेका कानुनविद् गोविन्द बन्दीलाई कानुन मन्त्री बनाएका देउवाले आइतबार फेरि समाजवादीकै अर्का शेरबहादुर कुँवरलाई पनि मन्त्री बनाएका छन् ।
कुँवर पनि सांसद छैनन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा र कृष्ण श्रेष्ठलाई फिर्ता बोलाई उनीहरुको स्थानमा नयाँ क्रमशः मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानीप्रसाद खापुङ र कुँवरलाई पठाएका छन् । उनीहरुको नाम प्रधानमन्त्री देउवा समक्ष पेश गरिसकेका छन्।
नेपालको संविधानले सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ । प्रधानमन्त्री देउवाले ६ महिनापछि मंसिरमा प्रदेश र संघीय निर्वाचन गर्नेगरी गैरसांसदलाई मन्त्री बनाएको समाजवादीका नेताहरु बताउँछन् ।




