मंसिरमा आम निर्वाचन, एकै चरणमा गर्ने सरकारको चाहना

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति सरकारसमक्ष सिफारिस गर्न गृहकार्य अघि बढाएको छ । आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै प्रतिनिधिसभा र प्रदेशको सभाको निर्वाचनको मिति सिफारिस गर्न आन्तरिक तयारी शुरू गरेको हो ।

यसका लागि आयुक्तहरू भित्री रूपमा छलफल थालेका छन् । निर्वाचनको मिति, निर्वाचन एकै चरणमा गर्ने कि दुई चरणमा गर्ने विषयमा छलफल भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘आयुक्तहरूले आन्तरिक छलफल सकिएपछि औपचारिक रूपमा निर्णय गर्नेछ,’ उनले भने, ‘यस विषयमा राजनीतिक दलहरूको धारणा र सुझाव पनि लिने छौँ ।’आयु

क्तहरू निर्वाचन मिति विषयमा छलफल गरी सरकारसमक्ष सिफारिस गरिने उनको भनाई छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी कानुनमा आयोगसँग परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने प्रावधान रहेको छ । संविधानमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्वाचन भएको मितिदेखि पाँच वर्ष कार्यकाल भनेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २०७४ साल मंसिर १० र २१ गते भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐनको आधारमा निवार्चित भएको अवधिबाट कार्यकाल पाँच वर्ष भनिएकाले आयोगले मंसिर २२ लाई कार्यकाल सकिने दिन भनेको छ ।

यसले गर्दा मंसिर १५ गतेभित्र निर्वाचन गराउन सरकारसमक्ष सिफारिस गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । ‘मंसिर १५ गतेभित्रमा निर्वाचन गराएमा कार्यकाल सकिनु एक, दुई दिनसम्म मतगणना कार्य सम्पन्न भइसक्ने हाम्रो बुझाइ रहेको छ,’ उनले भने ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दुई चरणमा गर्ने गरी तयारी अघि बढाएको छ । १० मंसिरभित्रै निर्वाचन सम्पन्न गर्नेगरी कात्तिक अन्तिममा एउटा मिति र मंसिर पहिलो साता अर्को मितिमा निर्वाचन गर्न सकिने आयोगको भनाइ छ । आयोगले १५ मंसिर उता हिमाली तथा पहाडी जिल्लामा निर्वाचन गर्न सम्भव नहुने भएकाले १० मंसिरअगावै निर्वाचन गर्न सकिनेगरी सरकारलाई सुझाव दिने तयारी गरेको हो ।

एकै चरणमा गर्ने सरकारको चाहना
राजनीतिक दलहरूले पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवाद बढाएका छन् । स्थानीय तह निर्वाचन सकिएलगत्तै सत्तारूढ दलदेखि प्रतिपक्षमा रहेका दलसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार भएका हुन् ।

सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बैठकमा निर्वाचनको विषय प्रवेश गराएका थिए । ‘सत्ता गठबन्धनबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा छलफल अघि बढिसकेको छ, एकै चरणमा निर्वाचन गर्ने सरकारको चाहना हो, निर्वाचन आयोगसँग पनि अनौपचारिक संवाद सुरु भएको छ, आयोगको चाहना दुई चरणमा भन्नेछ,’ एक नेताले भने ।

नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा दलहरूबीचमा छलफल सुरु भएको बताए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार देखिएको छ । एमाले नेता सुवास नेम्बाङले एमाले निर्वाचनका लागि सदासर्वदा तयार रहेको जानकारी दिएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री