पतिको यातनाका कारण मृत्युः दुईजना छोरीको बिजोग

गीता माझीले कमाएको अलिअलि पैसाले घरखर्च चलेको थियो। ज्यालादारी गरेरै भएपनि पतिलाई रक्सी खानसमेत दिन गरेकी थिइन् । गत हप्ता बेलुका खाना खाने समयमा पति रामचन्द्र माझीले उनलाई निर्घात कुटपिट गरे। रक्सीले मातेका उनले कुट्ने मात्रै हाेइन की  यौनांग र मलद्वारसमेत दाउराले क्षतविक्षत बनाइदिए।

रामचन्द्रले पटकपटक गीतालाई कुट्दै आएको छिमेकीहरु वताउँछन् ।  भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालसम्म आउँदा पनि गुप्तांगबाट रगत रोकिएको थिएन। उनी बिहीबार बेलुका ८ बजे अस्पताल पुगेकी थिइन्। उनको यौनांग र मलद्वारबीचको खाली भाग च्यातिएको उनले बताए। उनका अनुसार यौनांगको चार तह च्यातिएको थियो। प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको उनले जानकारी दिए। ‘हामीकहाँ आउँदा केस जटिल भइसकेको थियो। रगत बगिरहेको थियो,’ उनले भने, ‘मलद्वार र यौनांग च्यातिएकाले संक्रमण नहोस् भनेर एन्टिबाइटिक पनि चलाएका थियौं ।’

च्यातिएको भागमा पिसाब गएपछि संक्रमण गराउँछ। संक्रमण हुने डरले चिकित्सकले तीन दिनसम्म शल्यक्रियासमेत गरेका थिएनन्। त्यसपछि शल्यक्रिया गरेको एक दिनमै माझीको मृत्यु भयो। मुटुको धडकन बढेपछि बचाउन नसकिएको उनले सुनाए। उपचारपछि पनि दिसापिसाब नरोकिने फिस्टुला, आन्द्राको समस्यालगायत स्वास्थ्य जटिलता रहेको चिकित्सकले बताएका छन्। उनको भरतपुर अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्रबाट निःशुल्क उपचार गरिएको थियो ।

गीताको परिवार बिहान–बेलुका मजदुरी गरेर जीवन निर्वाह गर्दै आएको थियोे। उनीहरूको मुख्य पेसा भने माछा मार्ने हो। गीताले मजदुरी गरेर छोरीहरूलाई पाल्दै आएकी थिइन्। ३८ वर्षीया उनका तीन छोरी छन्। उनकी २० वर्षीया जेठी छोरीको बिहे भइसकेको छ । १४ र १० वर्षका दुईजना छोरी छन् ।

गीताका पति रामचन्द्रलाई सोही दिन स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन्। अहिले इलाका प्रहरी कार्यालय खैरहनीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। उनका अनुसार ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा चलाउने तयारी गरिएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री