काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरेलगत्तै आफ्नो चुनावी प्रतिबद्धता अनुसार काम गर्न थालनी गरेकी छन् । पदबहालीपछि हिंसा तथा अन्यायमा परेका पीडित महिलाको संरक्षण, आवश्यक कानूनी सहयोग तथा सहजीकरण र आत्मरक्षा तालिम लगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा महिला सेल (वुमन सेल) गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरिन् ।
सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका तथा पीडित महिलाहरूका लागि आवश्यक कार्य गर्ने लक्ष्य राखिएको छ । डंगोलले पदबहालीपछि मेलमिलापकर्तालाई आह्वान गर्न मेलमिलापको सूची अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर गरेकी छन् । मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी सानातिना विवादलाई वडा तहबाटै निरूपण गर्ने उद्देश्यले मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने बताइन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादको निरुपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दिई गर्नुपर्ने मेलमिलाप गराउँदा ऐनको दफा ४९ को उपदफा (३) बमोजिम न्यायिक समितिले सूचीकृत गरेका मेलमिलापकर्ताबाट गराउनुपर्ने कानूनी व्यवस्था रहेकाले प्रक्रिया अनुसार अघि बढ्ने पनि उनले बताइन् । सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि प्रतिबद्धता जाहेरी गरेकी छिन् ।




