कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद आयोजना हुँदैछ । आईसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १२ गते बिहीबार (आज) ‘ह्वावे डिजिटल कर्णाली संवाद इन एशोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको हो।
डिजिटल संवादमा कर्णाली प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ । संवाद विरेन्द्रनगर सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा बिहीबार दिउँसो २ बजेदेखि सुरू हुनेछ।
कार्यक्रममा मन्त्री, सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहने छ। संवादमा आईटी तथा ई-गभर्नेन्स विज्ञ सुरेन्द्र यादव र मध्यपश्चिम विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर पञ्चदेव भट्टले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
डिजिटल संवादमा कर्णाली प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारे वृहत छलफल हुने आयोजकले जनाएको छ ।
त्यस्तै लिभिङ विथ आइसिटीको आयोजनामा बिहीबार नै सिद्धार्थ सन्नी रिसोर्टमा इबीमा स्टार्टअप एण्ड आईडिया फेस्ट पनि हुने भएको छ । फेस्टमा कर्णाली प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरु सहभागी हुन सक्नेछन् । फेस्ट दिउँसो १ बजेदेखि सुरू हुनेछ ।
फेस्टसँगसँगै एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ समेत आयोजना हुनेछन् । एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् । त्यस्तै आईडिया पिचिङ सेसनमा सहभाभी स्टार्टअपहरूको आफ्नो आईडिया प्रस्तुत गर्नेछन् । उक्त प्रस्तुत आईडियामध्येबाट उत्कृष्ट पाँच आईडियालाई इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग समन्वय गरिने छ ।
डिजिटल संवाद र स्टार्टअप फेस्टमा निःशुल्क सहभागी हुन सकिने छ । यसअघि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल प्रदेश संवाद आयोजना भइसकेको छ ।




