एमालेका नेता एवं पूर्वमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर काभ्रेकाे मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । मेयरमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टाेकबहादुर वाइवा विजयी भए । यस्तै उपमेयरमा नेपाली कांग्रेसले जितेकाे छ । कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् ।
मण्डनदेउपुर पूर्वमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर हाे । उनकाे वडामा भने एमालेले प्यानलै जितेकाे भए पनि नगरपालिकामा भने जित्न सकेन । यस अघि एमालेका तर्फबाट जितेका टाेकबहादुर वाइवा अहिले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छन् । उनै वाइवा फेरि मेयर बनेका हुन् ।
मेयरमा विजयी वाइवाले ९४०६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका विदुर सापकाेटाले ८३५१ मत ल्याएका छन् । यता उपमेयरमा विजयी विष्णुमणि नेपालले ११३०५ मत ल्याए । प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६९२४ मत ल्याएकी छिन्। यहाँ २ वटा वडाकाे गणना बाँकी रहँदै उपमेयरमा विष्णुमणि नेपाल विजयी भइसकेका थिए। किनकी गणना हुन बाँकी २ वडाकाे मत ३५३१ मात्र थियाे । जबकी त्यतिबेला नेपालकाे मतान्तर नै ३६११ रहेकाे थियाे ।
मण्डनदेउपुर नगरपालिकाे वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएकाे छ । यस्तै २,३, ६,९, १० र १२ मा नेपाली कांग्रेसले जित हात पारेकाे छ । यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेकाे छ। यस वडामा ३ जना सदस्य कांग्रेसले जितेकाे छ भने एक जना माओवादी केन्द्रले जितेकाे छ। वडा नम्बर १ मा कांग्रेस ४ मतले पराजित भएकाे छ ।
मण्डनदेउपुरमा १२ वटा वडाहरू रहेका छन् भने यहाँ २१ हजार ९३५ मत खसेकाे थियाे ।
प्रतिकृया दिनुहॊस