के भयो भने मत बदर हुन्छ ?

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् ।

जसअनुसार निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन् । मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् । जसमध्ये ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । विभिन्न स्थानीय तहका ९ स्थानमा भने उमेदवारको मृत्यु भएकाले मतदान रोकिएको छ । त्यहाँ पुनः निर्वाचन प्रक्रिया सुरु भएको छ ।

के भयो भने मत बदर हुन्छ ?

सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ । यस्तै, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ ।

मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुनेगर्छ । उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ ।

कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरेमा मत बदर हुनेछ । निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा पनि मत बदर हुनेछ ।

आयोगका अनुसार मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा, आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा, मतपेटिका भन्दा बाहिर राखिएमा र जाली मतपत्रको प्रयोग गरेमा मत बदर हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री