काठमाडौँ । निर्वाचन आयोगले सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले उनीहरुलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले जारी गरेको बुलेटिन अनुसार नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको द्ध । उनीहरुलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको हो ।
‘यस सन्दर्भमा स्वतन्त्र पत्रकारहरुको पेशागत संगठनको तर्फबाट तपाईंले हस्ताक्षर गरी विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन ? स्वतन्त्र पत्रकारको पेशागत संगठनको अध्यक्ष/सचिवले कुनै अमुक राजनीतिक दलको-दलहरूको पक्ष वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ, मिल्दैन ?’ स्पष्टीकरणमा भनिएको छ, ‘कुनै अमुक उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको संघ-संगठनको पेशागत मर्यादाभित्र पर्छ, पर्दैन ? पत्रकारको पेशागत संगठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ, हुँदैन ? पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो, होइन ?’
आयोगलले कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत संघ-संगठनमा आवद्ध भई सो मार्फत निर्वाचन आचारसंहिता विपरित वक्तव्य जारी गर्दा आचारसंहिता उल्लङ्घन हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ, मिल्दैन ? भन्दै पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आग्रह गरेको छ ।




