काठमाडाैँ । कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ ।
चौधरीको सवारीमा दलको झन्डा प्रयोग गरेको भन्दै शनिबार राति धनगढी उपमहानगरपालिका-१९ का स्थानीयले सो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडीमा एमालेको झन्डा गाडेको भन्दै धनगढी-१९ मा कांग्रेसका युवाहरूले नियन्त्रणमा लिएका हुन् ।
प्रदेशसभा सदस्य चौधरीले प्रयोग गर्ने से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका-१९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका हुन् । उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । सो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।




