काठमाडाैँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमाले अध्यक्ष केपी ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको बताएका छन् ।
ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप उनले लगाएका छन् । मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने दाबी उनले गरे ।
उनले आसन्न स्थानीय तहको निर्वाचनलाई संविधान च्यात्ने र बचाउने बीचको जनमत संग्रहको संज्ञा दिए । ‘केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिहरुसँग हातेमालो गर्ने ठाउँमा पुग्नु भएको छ । आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन । स्थानीय तहमा पराजित हुँदै हुनुहुन्छ, उहाँको दक्षिणपन्थी सोचका कारणले ।’
गृह जिल्ला रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं । संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ ।’
प्रतिकृया दिनुहॊस