मेयरका उम्मेदवारको गाडी जलाउनेलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरको उम्मेदवारको गाडी जलाउनेलाई कारबाही गर्न माग गरेको छ । मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको घटनाप्रति ध्यानाकर्षण गर्दै कारबाहीको माग गरेको हो ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै निन्दनीय कार्यमा संलग्नलाई कारबाही गर्न माग गरे । ‘सवारी साधनमाथि आगजनी गरिएको घटना दुःखद र निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सिसिटिभी फुटेजबाट मोटरमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भएको र निज पक्राउसमेत परिसकेको अवस्थामा घटनाको यथार्थ विवरण लिन, निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

साथै राप्रपाले निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ । गएराती मेयरका उम्मेदवार गौतमकाे बेलबारी २ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको वा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री