लोकतन्त्र बचाउनका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन्।

नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा आज उनले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नेपालको संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण र सुदृढीकरण गर्न पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उनले सोहीअनुरूप लोकतान्त्रिक र परिवर्तनकारी शक्तिका बीचमा आवश्यकताअनुसार चुनावी तालमेल र सहकार्यसमेत अघि बढेको धारणा व्यक्त गरे।

गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै लोकतान्त्रिक र परिवर्तनकारी पक्षधर उम्मेदवारलाई सबैले सहयोग गर्ने उनको अपेक्षा थियो। प्रधानमन्त्री देउवाले कांग्रेस सदैव लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि सङ्घर्ष गर्दै आएको र त्यसमा सदैव अडिग रहेको उल्लेख गर्दै कांग्रेस बलियो भएमात्र लोकतन्त्र सुदृढीकरण हुने बताए।

भेटमा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको आसन्न नवौँ महाधिवेशनको तयारी, लोकतन्त्र रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका, मुलुकको सञ्चार क्षेत्रको अवस्थालगायत विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए। भेटमा युनियनका, उपाध्यक्ष ईश्वरी ओझा, कावा महासचिव भीष्मराज ओझा र कोषाध्यक्ष सरोज अधिकारी सहभागी थिए। युनियनले नवौँ महाधिवेशन आगामी जेठ १३ र १४ गते मकवानपुरको हेटौँडामा गर्ने तय गरेको छ ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस