काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई धम्की दिइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेताको भौतिक सम्पत्तिमा क्षति पुर्याएको र ज्यानै मार्ने धम्की दिएको घटनाप्रति राप्रपाले ध्यानाकर्षण भएको जनाएको हो ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै घोर निन्दा एवं भर्त्सना गरेका हुन् । ‘राप्रपाका कावासोती नगरपालिका वडा नं १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा भएको आगजनीको घोर निन्दा एवं भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको तत्काल सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन, दोषीलाई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौ ।’
यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ मा वडा अध्यक्षका उम्मेदवार रहेका सन्तोष अर्याललाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति पनि दुःख व्यक्त गरेको छ । ‘केही समयअघि नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका र हाल गोकर्णेश्वर-५ मा वडा अध्यक्षका उम्मेदवार रहेका सन्तोष अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भन्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति दुःख व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राजनीतिक दल छान्ने व्यक्तिको निजी अधिकारमाथि धावा बोल्ने काम लोकतन्त्रमा सह्य हुँदैन ।’
यसबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ । ‘जनताको माझमा आफ्नो एजेन्डा लिएर गइरहेका उम्मेदवारलाई निर्बाध चुनाव प्रचारको वातावरण बनाउन, दोषीलाई कारबाही गर्न र उम्मेदवारको सुरक्षामा गम्भीर बन्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौ,’ अगाडि भनिएको छ ।




