पाँच दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ। गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो। तर, ठाउँ ठाउँमा निर्णयविपरीत तालमेल भयो ।
शुक्रबारको निर्णयले भने त्यस्तो तालमेल खारेज हुने भएको हो। गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रले एमालेसँग केही जिल्लाको स्थानीय तहमा तालमेल गरेका छन्।
प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरको आमचोक गाउँपालिकामा एमाले–कांग्रेस तालमेल भएको छ। गुल्मीको धर्कोटमा भने एमाले–माओवादीबीच तालमेल भएको छ । बाग्मती प्रदेशको सिन्धुपाल्चोकस्थित सुनकोसी गाउँपालिकामा पनि एमाले–माओवादी तालमेलको निर्णय बिहीबार भएको छ ।
गठबन्धनको निर्णयविपरीत एमालेसँग भएका तालमेल शुक्रबार बसेको गठबन्धन बैठकले गरेको निर्णयले खारेज गर्ने भएको हो।




