नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् ।
बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधिलाई टिकट दिएर विजय गराउन सबै कार्यकर्तालाई आग्रहसमेत गरे।
नेता सिंहले संसदमा झण्डै दुई तिहाई जनमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुई पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताए।



