काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिमा आफ्नो क्यापिटल प्लान पेश गरेको जानकारी दिएकाे छ । समितिमा पेश गरेको प्लानअनुसार महालक्ष्मीले मर्जरका लागि ३/४ वटा कम्पनीसँग कुरा गरिरहेकाे छ । नेपालमा बिमाको संख्या धेरै भएको विषयलाई बुझेर आफ्नो रोडम्याप तयार पारिसकेको महालक्ष्मीले जनाएको छ ।
मर्जरका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्सले संचालक समितिको बैठक बसी विशेष साधारण सभासमेत बोलाएको छ । कम्पनीले पुँजी वृद्धि योजनाको रोड म्याप अनुसार साधारणसभाले मर्जरका लागि निर्णय गर्ने कम्पनीले जनाएको छ ।
महालक्ष्मीले १ सय ३० करोड जनसंख्या भएको देश भारतमा २४ वटा लाईफ र २३ वटा नन लाईफ कम्पनी रहेको जानकारी गराउँदै नेपालमा मर्जरको विकल्प नरहेको जनाएको छ । बीमा समितिले पनि गत चैत १० गते बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरेको थियो ।
बीमा समितिका अनुसार अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी अब साढे २ अर्ब हुनुपर्छ । नेपालमा ३९ वटा बीमा कम्पनीहरू छन् । जसमध्ये १९ वटा कम्पनीले जीवन व्यवसाय सञ्चालन गर्दै आएका छन् भने २० वटाले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।



