प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले साझा संघर्षबाट तत्कालका लागि मात्र प्रतिगमन पराजित भएको बताए ।

उनले लेखेका छन्, ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गर्‍यो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन ।’

उनले संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आबद्ध दलका नेता-कार्यकर्तालाई विजयी गराउन आग्रह गरेका छन् । ‘प्रतिगमनविरुद्धको संयुक्त संघर्षको क्रममा गठित वाम-लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ । यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री