सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो समय इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो।
तेलको मूल्यवृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए।
रुटअनुसार बढेको भाडाको दर सूची आइतबार सार्वजनिक गरिने उनले बताए । तर, स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनको भनाइ छ। रुस-युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय तेलको भाउ लगातार बढिरहेको छ।




