इन्धनलगायतका निर्माण सामग्रीमा मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योगमा गम्भीर समस्या परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ। सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माणको काम अघि बढाउन नसकिने बताए।
निर्माण सामग्रीमा भएको शतप्रतिशत मूल्यवृद्धिसँगै बजारमा अभाव र कालोबजारी सुरु भएको उनले बताए। मूल्यवृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनामा व्यवसायीले मूल्यवृद्धि पाउने गरि २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मागदर्शन तुरुन्त जारी गर्नु पर्ने महासङ्घको माग छ।
कोभिड लगायतका कारणले निर्माणमा असर पुगेकाले सबै परियोजनामा एकमुष्ठ एक वर्ष म्याद थप हुनुपर्ने महासङ्घका अध्यक्ष सिंहले माग गरे। साना निर्माण व्यवसायीहरूको वृद्धि विकासका लागि पाँच करोडसम्मको लागत अनुमान भएको निर्माण कामको खरिद योग्यता निर्धारण गर्न नहुने उनले बताए। दुई करोडदेखि पाँच करोडसम्मको निर्माण कार्यका लागि १० वर्ष पुरानो निर्माण व्यवसाय इजाजत–पत्र प्राप्त गरेको फर्म कम्पनीले मात्र भाग लिन पाउनुपर्ने महासङ्घले जनाएको छ।
प्रतिकृया दिनुहॊस