काठमाडौं । वायुको गुणस्तरबारे अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले केही दिनअघि सार्वजनिक गरेको सूचीमा विश्वका प्रदूषित राजधानीमध्ये काठमाडौं छैटौं नम्बरमा परेको छ । ११७ देशका ६,४७५ वटा शहरको वायु गुणस्तर मापन तथा विश्लेषणमा राजधानी शहरहरूमध्ये काठमाडौं छैटौं नम्बरमा परेको हो ।
काठमाडौं उपत्यकाको पछिल्लो अपडेटअनुसार वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको छ । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । काठमाडौंको शहरी वायु प्रदूषणमा सवारी साधनको चाप नै मुख्य कारक रहेको वातावरणविदहरूले बताउँदै आएका छन् ।
इन्धनजन्य सवारी साधनबाट निस्कने कार्वन मनोअक्साइड, नाइट्रोजन मनोअक्साइडलगायत ग्यासले वायुको गुणस्तरलाई घटाइदिन्छन् र मानव स्वास्थ्यमा घातक असर पुर्याउन सक्छन् । त्यस्तै घरेलु प्रयोजनका लागि बालिने दाउरा गुइँठालगायतबाट निसकने धुँवा शहरी प्रदूषणभन्दा २० गुणा बढी हानिकारक हुने बताउँछन् वातावरणविद् भूषण तुलाधार ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २ अर्ब ६० करोड जनसंख्या अहिले पनि खुला आगोको प्रयोग गर्छन् । त्यसमा दाउरा, कोइला, इन्धनयुक्त आगोका स्रोतहरु छन् । वार्षिक ३८ लाख मानिसको घरेलु धुँवाजन्य रोगबाट मृत्यु हुने गरेको छ ।
वायु प्रदूषणकै कारण हुने विभिन्न रोगमध्ये २७ प्रतिशतमा निमोनिया, १८ प्रतिशतमा ह्रदयघात, २७ प्रतिशतमा अकस्मात देखिने मुटुरोग, २० प्रतिशतमा श्वासप्रश्वाससम्बधी रोग र ८ प्रतिशतमा फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको संगठनको तथ्यांक छ । वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले प्रदूषण बढेको यो बेलामा श्वासप्रश्वास सम्बन्धी रोग खोकी, दम तथा मुटुका बिरामी अझ बढी प्रभावित हुने गर्छन् । केही दिन सकेसम्म मर्निङ वाक नगर्न पनि विभागको आग्रह छ ।




