विमानस्थलको प्रतीक्षालयमा शुल्क तिर्नुपर्ने नियमको चर्को विरोध

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त व्यवस्थापनका कारण सधैँ आलोचित हुँदै आएको छ । यी आलोचना तथा गुनासाहरूको सम्बोधन गर्नुको साटो अब भने विमानस्थलको प्रतीक्षालयमा आफन्त कुर्दा शुल्क तिर्नुपर्ने बनाइएको छ ।

व्यवस्थापनको जिम्मा ‘आईएमएस एयरपोर्ट सर्भिस’लाई जिम्मा लगाएपछि त्यहाँ जाने यात्रुका आफन्त तथा साथीभाइहरूले शुल्क तिर्नुपर्ने भएको हो । सरकारले सम्झौता नै गरेर ३० वर्षका लागि निर्माणसहित सञ्चालन व्यवस्थापन सम्पूर्ण जिम्मा सो सर्भिस कम्पनीलाई सुम्पेको छ । कम्पनीले ‘सुपररियर’ र ‘डिलक्स’ रुम छुट्याएर शुल्क तिर्नेहरूलाई आगमन कक्षको भित्रैसम्म जान दिने गरेको छ ।

आगमन कक्षमा बस्न चाहनेका लागि पचास र सय रुपैयाँ शुल्क तोकिएको हो । जसमा सुपरियर कक्षका लागि पचास र डिलक्स कक्षका लागि सय रुपैयाँ शुल्क तोकिएको छ । प्रतिव्यक्ति सय रुपैयाँ तिर्नेहरूले त यात्रुलाई आगमन कक्षको भित्री भागसम्मै पुगेर स्वागत गर्न पाउँछन् ।अहिले धेरैका आफन्त प्रतीक्षालयको बाहिरै लाइनमा बसेको देखिन्छ । यो लाइनमा कोही आफ्ना आफन्त लिन, कोही आफ्ना अतिथि लिन त कोही यात्रु लिन आएकाहरू हुन्छन् । प्ले कार्ड लिएर घण्टौँ यो रेलिङ छेउमा उभिन सहज कहाँ पो छ र ? तर बाध्यता जति नै कठिन नै भए पनि कुर्नै पर्‍यो । पैसा तिर्न सके यी सर्वसाधारणले भित्रको सुविधा सम्पन्न प्रतीक्षालयमा बस्न पाउँथे ।

तर कतिले थाह नभएर त कतिले पैसा तिर्न नसकेर यो भिरालो प्रतिक्षालनको रेलिङमा समाएर आफ्ना आफन्त प्रतीक्षामा हुन्छन् । प्रतीक्षालयमा बस्न पनि पैसा तिर्नुपर्ने भन्दै धेरैले असन्तुष्टि जनाइरहेका थिए । यसै पनि उभिइरहँदा हुने सास्ती त छँदैछ, पानी र गर्मीको बेलामा यस्तो सास्ती झनै बढ्छ ।नजिकै रहेको ‘आगमन कक्ष’ मा बस्नेलाई भने ५० र १ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । आफन्तलाई लिनका लागि विमानस्थलमा पुग्नेहरूले आगमन कक्षमा बस्दा शुल्क तिर्नुपर्ने नियम उचित नभएको त्यहाँ पुग्ने नागरिकहरू बताउँछन् ।

सर्वसाधारणको यो गुनासो बोकेर विमानस्थलका अकारीहरूलाई राख्दा- विमानस्थललाई व्यवसायीकरण गर्ने भनेर यो क्षेत्र निजी कम्पनीलाई दिइएको जवाफ आयो । त्रिभुवन विमानस्थलको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर प्रतीक्षालयमा बस्ने कि नबस्ने भन्ने स्वैच्छिक विषय भएको बताउँछन् । निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण मोडलमा आगमन क्षेत्रको व्यवस्थापन गरिरहेको आईएमएस एयरपोर्ट सर्भिसले आम्दानीका लागि यसो गर्नु स्वाभाविक भएको ठाकुरको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘Experience Toyota २०८१’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिंग फाइनान्स

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ …

प्रतिकृया दिनुहॊस