कोरियामा श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली लाभान्वित

काठमाडौं । ईपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः खोलिए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो ।

दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूणर् प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हाे । निणर्यअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई-९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउने छन् ।

ईपीएस नियमानुसार पहिलो कार्यकालमा तीन वर्ष प्रवेशाज्ञा पाउँछन् । तीन वर्षे अवधि समाप्त भएपश्चात् कम्पनी र श्रमिकको सहमतिमा थप एक वर्ष १० महिनासहित चार वर्ष १० महिना बस्न पाउँछन् । पहिलो कार्यकाल सकेर अनिवार्य आफ्नो देश फर्किनु पर्छ । पुनः प्रतिबद्ध श्रमिकका रूपमा दोस्रो कार्यकालका लागि कोरिया आएका श्रमिकको समयावधि पनि पहिलो कार्यकालकोझैं हुनेछ ।

हाल एक वर्ष प्रवेशाज्ञा थपिनेमा पहिलो वा दोस्रो जुनसुकै कार्यकालको भए पनि यही अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा तीन वर्षे अवधि वा चार वर्ष १० महिना अवधि सकिन लागेका पर्छन् । अवधि सकिन लागेकालाई यहाँको इमिग्रेसनले आफैँ एक वर्ष बसाई अवधि थपिदिने छ । जसका लागि केही दिनपछि हाइकोरिया वेबसाइट वा आफ्नो इपीएस आइडीबाट आफ्नो थपिएको अवधिबारे जानकारी लिन सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप