लेटाङमा प्रहरी मृत्यु प्रकरण : आठ जना पक्राउ, घटना छानविन शुरु

काठमाडाैँ । मोरङको लेटाङमा भड्किएको हिंसामा एक महिला प्रहरीको ज्यान गएपछि प्रहरीले छानबिन थालेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म आठ जनालाई पक्राउ गरेको छ ।

अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिए । उनका अनुसार छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ ।

शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका छन् ।

तनाव बढेपछि लेटाङमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको छ । दक्षिणमा लेटाङ नगरपालिका-३ र ४, लेटाङ-५ का सबै क्षेत्र, उत्तरमा लेटाङ-६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि विद्यालयमा यसबारे छलफल भइरहँदा झडप भएको हो । छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका थिए ।

उनीहरुले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री