नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने बताएका छन्।
उम्मेदवारहरूको टुंगो लगाउन केन्द्रदेखि पालिका तहसम्मै संसदीय समितिको व्यवस्था विधानमै रहेको र समितिले उम्मेदवार टुंगो लगाउन ढिला नगर्ने बताए।
उम्मेदवार छनोटबारे तल्लो तहमा नटुंगिएको विवाद भने केन्द्रले टुंगो लगाउने पनि बताए । तर, सर्वसम्मतरूपमा राम्रा मान्छेलाई उम्मेदवार बनाउन आग्रह गरे। उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए।
नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।
महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गरे। उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकाले जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने बताए ।




