बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ। पछिल्लो पटक थप भएको म्याद आज सकिएको छ। मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष पेश गरेको थियो ।
तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । तर, अनुसन्धान नसकिँदै नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो ।
जसले गर्दा तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन। नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो ।



