उपत्यकाको सुरक्षामा कडाइ, बिहानैबाट मापसे चेकिङ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ ।

महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको र बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने जनाएको हो ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरिएको भनेको छ ।

होलीको पूर्व सन्ध्यामा बुधबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले होली पर्वलाई सभ्य र सुरक्षित रूपमा सम्पन्न गराउन ट्राफिक व्यवस्थापन कडा बनाउन सबै ट्राफिक एकाइ तथा इन्चार्जलाई निर्देशन दिएका छन् । ‘होली पर्वमा सवारी व्यवस्थापनको विभिन्न चुनौती तथा खतरालाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि तथा उपकरणको समुचित उपयोग गर्नेगरी ट्राफिक प्रहरी परिचालन गरिनेछ,’ महाशाखाका प्रमुख एसएसपी जोशीले भने ।

महाशाखाले बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने जनाएको छ ।

महाशाखाले उछृखंल तथा अवाञ्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेलमेट नलगाउने, मोटरसाइकलमा दुई जनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको भनेको छ ।

फागु पूर्णिमा (होली)को शुभकामनासहित दुर्घटनारहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वका रूपमा मनाउन सम्पूर्णलाई ट्राफिक महाशाखाले विशेष अनुरोधसमेत गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस