सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छिन्। उनले गाउँबाट सहरतिर बसोबास बढनु सहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन्।
लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उनले पहाडबाट तराईतिर, साना सहरबाट ठूला सहरतिर बसाइँसराईको क्रम बढनु चुनौती रहेको बताइन्।
बसाइँसराई कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले यसका लागि नीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको बताइन्। सरकारका संयन्त्रले ‘एक्लाएक्लै काम गर्छाैं’ भन्ने सोच बदल्न आवश्यक रहेको बताउँदै झाँक्रीले मन्त्रालय नै एक अर्काका विरोधीजस्ता देखिएकाे बताइन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको सहरी नीति ल्याउनुपर्ने बताए। उनले देशका सुविधा सम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकूलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए।



