काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतकाे ‘पिर’ को विषयलाई लिएर धेरै आवेगमा नआउन आग्रह गरेका छन् ।
साेमबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरूकाे जिज्ञासामा प्रचण्डले यस्ताे बताएका हुन् । ‘मानिसहरूले आफ्नो अनुभव, आफ्नो अनुभूतिअनुसार आफ्नो गीत/कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ, तर माओवादी आन्दोलनको एउटा पाटोको रूपमा कसैले चर्चा गर्याे भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’
कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको उल्लेख गर्दै उनले भनेका छन्— ‘त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।’ प्रकाश सपूतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसासमेत गरेका छन् ।
उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुनेसमेत बताए । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्,’ प्रचण्डले भनेका छन् ।




