प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पेस गरिएको हो।
माओवादी केन्द्र प्रमुख सचेतक देव गुरुङले बैठकमा महाभियोग प्रस्ताव पेस गरेका हुन् । उनले न्याय सम्पादनमा आँच आएको तथा न्यायालय क्षेत्रमा भइरहेको गत्यारोध अन्त्य गर्न महाभियोगको प्रस्ताव ल्याएको जानकारी दिए।
संवैधानिक जिम्मेवारीलाई दुरुपयोग गरेको आरोप लगाएको महाभियोग प्रस्तावमा जबराका कार्य एकपछि अर्काे विवादास्पद बनेको बताइएको छ ।
एक महिनाअघि १ फागुनमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो ।
अर्काे बैठक चैत २ गते बस्नेछ। यस दिन उक्त विषयमा छलफल हुने बताइएकाे छ ।




