अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन्।
भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भए पनि मिहेनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए।
उनले भने, “यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ। तर, यो सधैँका लागि राखिएको होइन। हाम्रो बाध्यकारी परिस्थितीले यो अवस्था सिर्जना भएको छ। स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ।”
अर्थमन्त्री शर्माले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने आफूले विश्वास लिएको बताए।
अर्थमन्त्री शर्माले व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई निर्देशन दिए। माघ मसान्तसम्मको लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उनले खुसी व्यक्त गरे।
भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व सङ्कलनको लक्ष्य भए पनि आयातमा गरिएको कडाइका बाबजुद तीन खर्ब ८ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिए। यो गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत बढी हो।




