काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । काठमाडौँको राष्ट्रिय सभागृहमा शुक्रबारदेखि शुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएपछि अब बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा प्रवेश गरेको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘आजको बैठक कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित हुनेछ, बैठकको कार्यसूची अब कार्ययोजना निर्माण र सङ्गठन हो, उनले भने, ‘पदाधिकारी चयन पनि सङ्गठनभित्रै पर्ने एजेन्डा हो, आज टुङ्गो लाग्ने अत्यधिक सम्भावना छ ।’
पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको थियो । अन्य पदाधिकारी हालसम्म चयन भएको छैन । माओवादीमा निर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ।
बैठकमा सहमति भए पदाधिकारी चयन हुन सक्ने माओवादी केन्द्रका नेता देव गुरुङले बताए । सङ्गठन र कार्ययोजनाबारे बैठक केन्द्रित हुने चर्चा गर्दै नेता गुरुङले भने, ‘पदाधिकारी चयन गर्ने कुरा सहमति भए हुन्छ, नभए हुँदैन, सहमति भइसकेको कुरा मलाई जानकारी छैन ।’
केन्द्रीय समितिलाई पूर्णता दिने काम पनि बैठकबाट हुने सम्भावना छ । २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् । २९९ मा १० प्रतिशत हेडक्वार्टरले मनोनीत गर्ने व्यवस्था छ। त्यो पनि बाँकी छ । २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनीत गर्ने काम पनि बाँकी छ ।




