एमसीसी अनुमाेदनपछि माओवादी केन्द्रमा विवाद चर्कियाे

गत आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ।

व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ।

पूर्वएकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आँकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए। भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्यथा नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए।

सोमबार प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला। जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला। एमसीसीको विरोध गर्ने बित्तिकै सबै जनता आउने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन।’

प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरुले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन्। नेता नारायणकाजी श्रेष्ठले पूर्वएकता केन्द्रका नेताहरुसँग परामर्श गरेको स्रोतको दाबी छ।

तर असन्तुष्ट पक्षका एक नेताले भने आफूहरुले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीररुपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई सामान्यरुपमा लिनु पर्ने बताए। आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री