काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।
गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरू एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् । यद्यपि, हालसम्म सहमति जुट्न सकेको छैन ।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउने बताए । निर्धारित समयभित्र उनीहरूले आफ्नो धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेछन् ।
लगातार दुईपल्ट स्थगित भएर आज बस्न लागेको प्रतिनिधिसभा बैठकबाट अब एमसीसी अघि बढ्ला कि नबढ्ला भन्नु कुरा आम चासोको विषय बनेको छ । यो कुरा प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन वा प्रमुख प्रतिपक्षी एमाले जोसँग भए पनि गर्ने सहमतिमा भर पर्ने देखिएको छ ।
प्रतिकृया दिनुहॊस