प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ।
एमालेले संसदमा जारी राखेको अवरोध हटाउने र संसदमा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारे नेताहरूबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि टोली बालकोटबाट बाहिरिएको हो ।
दुई पक्षबीच वार्ता सहमति हुने अवस्था सिर्जना भएको भए बालकोटमै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुने कार्यक्रम तय भएकामा दुई पक्षका नेताहरूबीचको वार्ता नै निष्कर्षमा नपुगेपछि उनीहरूबीच आज भेटवार्ता नहुने भएको बताइएको छ।
बालकोटस्थित ओली निवासबाट बाहिरिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले आजको छलफलबाट नयाँ सन्देश दिन खोजे पनि नसकेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए।
छलफलपछि एमाले महासचिव शङ्कर पोखरलेलले गठबन्धनको राय अझै स्पष्ट नआउँदा एमालेले आफ्नो निर्णय दिन नसकेको बताए।
आजको छलफलमा कांग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालबीच वार्ता भएको थियो ।
प्रतिकृया दिनुहॊस