काठमाडौँ । सत्ता गठबन्धनमा एमसीसी अनुमोदनका लागि संसद्मा पेस गर्ने सहमतिपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसीविरुद्ध विभिन्न दल र तीनका भातृ संगठनहरुले प्रदर्शन जारी राखेका बेला काठमाडौँमा उच्च सरक्षा सतर्कता अपनाइएको हो ।
दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभा बैठकमा बोलाइएको छ । एमसीसीको विरोधी दैनिकजसो प्रदर्शन हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । ‘अहिलेसम्म अवस्था शान्तिपूर्ण छ तर, हामी सम्भावित सुरक्षा खतराबारे अलर्ट छौँ,’ उनले भने, ‘प्रहरी परिचालित भएको छ । गस्ती बढाएका छौँ ।’
बिहान प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको छ । बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए ।




