काठमाडाैँ । विकास निर्माणका काम गरिँदा समयसापेक्ष नवीन प्रविधिको प्रयोग गरिनुका साथै आकर्षक संरचनातर्फ पनि ध्यान दिन थालिएको छ । मितव्ययी हुनुका साथै बहुउपयोगी पनि हुनेगरी विकास कार्य अघि बढिरहेको एउटा उदाहरण ‘तीनमुखे पुल’ भएको छ । लामो समयदेखि निर्माण प्रारम्भ भएर चर्चामा रहेको तीन जिल्ला जोड्ने देशकै नमुना पुलको रूपमा रहेको तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य अब भने अन्तिम चरणमा पुगेको छ ।
२०७१ सालमा तत्कालीन नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेल र गुल्मी क्षेत्र नम्बर ३ का सांसद चन्द्र भण्डारीले शिलान्यास गरेकाेको यो भोलुङ्गे पुलले गुल्मी, स्याङ्जा र पाल्पा जिल्लालाई जोडेको छ । तीन जिल्लाको सङ्गमस्थल रिडी क्षेत्रको कालीगण्डकीमा निर्माणाधीन तीनमुखे पुलले निकै ठूलो चर्चा पाएको छ । २०७१ साल असार १० गते तीन वर्षभित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो, रुबिना, मना जेभी र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकबीच सम्झौता भएको थियो । तीन पटकसम्म म्याद थप गरेर काम गराउँदा बल्ल निर्माण कार्य अन्तिम चरणमा पुगेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ ।
तोकिएको समयमा कोरोना सङ्क्रमणका कारण कार्य सम्पन्न गर्न नसक्नु मुख्य समस्या भएको कार्यालयका प्रमुख भरत अर्यालको भनाइ रहेको छ । कोरोनासँगै निर्माण सामग्रीको मूल्यमा उतारचडाव हुनु र केही प्राविधिक समस्याका कारण पनि निर्माणमा ढिलाइ भएको अर्यालले बताए । चैत मसान्तसम्म निर्माण कार्य सकिने र लामो समयपछि नमुना कामको परिणाम देखिने अर्यालको भनाई छ ।
नेपालकै आकर्षक र नमुना पुल निर्माण कार्यले पहिले गति लिन नसके पनि हाल आएर निर्माणको अन्तिम चरणमा पुगेको देख्दा छिट्टै सम्पन्न हुनेमा आशा पलाएको स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । सो पुलको निर्माणपश्चात् तीन जिल्लाबीच थप सम्बन्ध बढ्ने र आन्तरिक पर्यटनमा समेत वृद्धि हुने उनको भनाइ छ ।
यता रुरु क्षेत्रका स्थानीय चुडामणि तिमिल्सेनाको विचारमा तीनमुखे पुल बनेपछि पर्यटकको मुख्य केन्द्रबिन्दु यही पुल बन्ने छ । अन्यत्र कतै पनि यस्तो पुल नभएकाले अवलोकन गर्न धेरै आउने भएकाले पर्यटनसँगै धार्मिक क्षेत्रको पनि थप प्रचार-प्रसार हुने बताए । पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ को रिडी, स्याङ्जाको कालीगण्डकी-१ को कारीकोट चण्डीभञ्ज्याङ र पाल्पाको तानसेन नगरपालिका-१४, अर्गलीलाई आपसमा जोड्ने छ ।
कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७ दशमलव ४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दूरीमा रहेको छ । पुलको मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लातर्फ पुग्न समान दूरी रहेको छ । मुख्य पिलरको जमिनमुनि १६ मिटर ‘वेल फाउन्डेन’ गरी थप १२ मिटरमा वाक-वे निर्माण गरिएको छ भने वाक-वेबाट २५ दशमलव २३ मिटरको उचाइको टावरमा लठ्ठा कसिएको छ । एक मिटर १५० सेन्टिमिटरमा ठलान गरी रेलिङ राखिएको छ । -गोरखापत्र दैनिकबाट




