काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको हो ।
गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता बारेमा छलफल हुनेछ । यस अघि विहिबार बसेको गठबन्धनको बैठकमा सहमति हुन नसकेपछि बैठक आज फेरी बोलाइएको थियो । एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा नबस्ने बताउँदै आएको छ ।
आजै बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ ।
प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निस्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ ।




