काठमाडाै । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना’ ल्याएको छ। याे योजनाले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो ।
१८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मकाे बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम एक लाखदेखि अधिकतम बीमाङ्क रकम रू.एक करोड सम्मको बीमा गर्न सकिने छ ।
उदाहरणको लागि ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ मासिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा मासिक रु.५ हजार २ सय ६ बीमा शुल्क मात्र लाग्ने छ । त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा वार्षिक रु. ५८ हजार ३ सय १० बीमा शुल्क मात्र लाग्ने छ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दा रु. ७ लाख ३२ हजार १ सय ५ बीमा शुल्क मात्र लाग्ने छ ।
कम्पनीका अनुसार बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १ प्रतिशत छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ प्रतिशत थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ प्रतिशत थप शुल्क लाग्नेछ । त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । रु. २५ लाखसम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने रु. २५ लाख भन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १ प्रतिशत छुटको व्यवस्था गरिएको छ । योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।
त्यस्तै १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १ एक करोडसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्ता दिइने कम्पनीले वताएकाे छ ।
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमितले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ । बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ । बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने कम्पनीले जनाएको छ । कम्पनीका दिएकाे जानकारी अनुसार यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइने छ ।




