काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । यतिबेला पहाडी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कतै वर्षा तथा हिमपातको सम्भावना देखिएको छैन । आज दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
भोलि मंगलबार दिउँसो भने पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ । बुलेटिनअनुसार मंगलबार राति देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । वर्षाको सम्भावना भने छैन ।
यस्तै बुधबार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । अनि पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार राति पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । अनि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
प्रतिकृया दिनुहॊस