नोकियका लागि ५ जीको योजना समस्या

एजेन्सी। दूरसञ्चार सेवा प्रदायक कम्पनी नोकियका लागि पाँचौं पुस्ताको इन्टरनेट ५ जीको योजना समस्या बनेको एक विवरणले देखाएको छ।यस वर्षको अन्तिमसम्ममा आफ्नो ५ जीको कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउने लक्ष्यमा कम्पनी अघि बढिरहेकोमा उसको नाफा केही घट्न सक्ने बताइएको हो।

कम्पनीले सार्वजनिक गर्न गइरहेको त्रैमासिक नाफाको विवरणमा कम्पनी केही कमजोर रहनसक्ने अनुमान गरिएको हो।

पछिल्लो समय ४ जी सेवा प्रदानकै अत्यधिक मागको कारण सुधारको लागि संघर्ष गरिरहेको कम्पनीले यस वर्षको अन्तिममा पाँचौं पुस्ताको इन्टरनेट ५ जी अमेरिकामा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

सन् २०१९ को सुरुवातमा भने उसले आफ्नो यो सेवा जापान तथा दक्षिण कोरियालगायतका मुलुकहरुमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यद्यपि उसको तयारी भने आशा गरिएअनुसारको नरहेको विश्लेषकहरुले बताएका छन्।

गएको साता कम्पनीको सेयरमा पनि उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको थियो। अर्को स्विडिस प्रतिस्पर्धी कम्पनी एरिक्सनमा व्यापक गिरावट आएको अवस्थामा नोकियाको सेयर भने बलियो अवस्थामा देखिएको हो।

नोकियाको लागि यस वर्षको दोस्रो त्रैमासिक अवधिको कार्यगत नाफा ४३ करोड ६० लाख अमेरिकी डलरबराबरको रहनसक्ने अनुमान गरिएको छ। यो नतिजा एक वर्षअघिको सोही अवधिको तुलनामा ३५ प्रतिशतले घटेको हो।

पाँचौं पुस्ताको इन्टरनेट ५ जीका लागि अघि बढिरहेको नोकियाका लागि विश्व बजारमा देखिएको व्यापक प्रतिस्पर्धा पनि कमजोर नतिजाको एक कारण रहेको नोकियाका अधिकारीहरुको भनाइ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री